प्रिय नेतागण……
बिज्ञापन
प्रचण्ड, बिप्लव, ध्रुवेन्द्र,
र ती सबै कमरेड जसले सधै जनताको मुटुमा “परिवर्तन” को आगो जलाएका थियौँ।
बिज्ञापन
हामी, पूर्व जनमुक्ति सेनाका सिपाहीहरू,
अहिले पनि त्यो रगत, पसिना र सपना सम्झिरहेका छौँ —
जहाँ हामीले न त नामको लागि लड्यौँ, न पदको लागि,
हामी लड्यौँ एक न्यायपूर्ण समाजका लागि।
तर आज ती सपना सत्ता र स्वार्थका बीच, इतिहासको धुलोमा हराउँदैछन।
दर्शनको दृष्टिले एकता बिना क्रान्ति अन्धो हुन्छ क्रान्तिको आत्मा विचार हो, तर विचार बाँच्नका लागि एकता, विनम्रता र आत्मसमीक्षा अनिवार्य छ प्रचण्डजी, तपाईंको नेतृत्वले इतिहास निर्माण गरेको थियो,
तर इतिहास स्थायी रहन, पुनः आत्मपरीक्षण र मिलन आवश्यक छ।
बिप्लवजी, तपाईंको विद्रोहले ऊर्जा जगायो,तर विद्रोह बिना कार्यदिशा,
माछा बिना पानी जस्तै हो । अब बन्दुक होइन, विचारको पुनर्मिलन चाहिन्छ।
बिज्ञापन
धर्मन्द्रज्यू, तपाईंको दर्शन जनताको मुटुमा अझै बाँचेको छ। तर दर्शन पुस्ताहरूमा होइन, व्यवहारमा लागू हुनुपर्छ।
त्यसका लागि सबै माओवादी धारहरू एक दिशामा उभिनु अपरिहार्य छ।
कूटनीतिक दृष्टिले — सत्ता होइन, स्वाभिमानको एकता नेपालको भू–राजनीति सधैं संवेदनशील छ।
विदेशी स्वार्थहरूलाई आफ्नो राजनीतिक रणनीति बनाउने गल्ती
हाम्रो क्रान्तिकारी इतिहासको सबैभन्दा ठूलो धोका हुनेछ।
हामी माओवादीका सिपाहीहरूले अझै पनि देशमा स्वाभिमानको झण्डा फहराउन चाहन्छौँ, तर त्यो झण्डा अब केवल तपाईंहरूको एकताबाटै मात्र सम्भव छ।
व्यवहारिक दृष्टिले नारा होइन, परिणाम हामीले “नयाँ नेपाल” को नारा लगायौँ, तर आज पनि पुरानै दुख, पुरानै शोषण, पुरानै बेथिति छ। हामी गाउँका खेतमा पसिना बगाउनेहरू सहरका इट्टा, बालुवा, पसिना र सपना ढोकेर परदेश आएकाहरू अझै पनि त्यो परिवर्तनको प्रतीक्षा गर्दैछौँ, जसको बाचा तपाईंहरूले गर्नुभएको थियो। नेतृत्वको सहि मूल्यांकन भाषणले होइन, जनताको पेटले गर्छ। अहिले जनताको पेट खाली छ, तर तपाईंहरूको पार्टीहरू मात्र भरिएका छन्।
चेतनाको आह्वान अब ढिलो भए इतिहास निर्दय हुनेछ हामी आग्रह होइन, चेतावनी दिंदैछौँ । अब एकता नगरे, माओवादीको नाम इतिहासको खरानीमा मात्र बाँकी रहनेछ।
हामी पूर्व जनमुक्ति सेनाका सिपाहीहरू आज पनि राष्ट्र, वर्ग, र श्रमप्रति निष्ठावान छौँ । तर हामी अब व्यक्तिगत नेताको होइन, सिद्धान्तको र जनताको पक्षमा उभिनेछौँ।
क्रान्ति फेरि बन्दुकले होइन, चेतनाले पुनर्जन्म लिन्छ। त्यसैले अब प्रचण्ड, बिप्लव धर्मन्द्र अहंकार होइन, एकताको राजनीतिमा फर्किनुहोस्।
माओवादी विचारको पुनर्जागरण गर्नुहोस्, जनताको भरोसा पुनः जगाउनुहोस् । हामी फेरि तयार छौँ, तर यो पटक हतियार होइन, चेतना लिएर।
निष्कर्ष
“विचारले जन्माएको आन्दोलनलाई अहंकारले मर्न दिनु पाप हो।”
हामी अझै पनि जनताको पक्षमा छौँ । तर अब इतिहासको कलम तपाईंहरूको हातमा होइन जनताको चेतनामा छ। अब पनि समय छ
यदि तपाईंहरूको मनमिल्यो भने, क्रान्तिको आगो फेरि बल्नेछ।
पूर्व जनमुक्ति सेनाको तर्फबाट
प्रभास बाट — भुवन बि.सी.














