हिउँ हराउँदै जानु र अनियमित मौसमको सामना गर्नुपर्ने चुनौतीहरू हिमाली क्षेत्रमा खडा भएका छन् । कृषि, जलस्रोत, जैविक विविधतासँगै हिमाल र नजिकका क्षेत्रका समुदायको जीविकोपार्जनमा गम्भीर जोखिम देखिएको छ । हिमालमा जलवायु परिवर्तनको प्रभावले तल्लो र तटीय क्षेत्रमा दूरगामी प्रभाव पार्न सक्छ । यी विषयले अझै पनि विश्वमञ्चमा उचित प्रतिनिधित्व र बहस पाउन सकेको छैन । जलवायु परिवर्तनको विषयमा छलफल र अध्ययन पुगेकै छैन । पर्याप्त अध्ययन गर्न लगानी जरूरी पर्छ ।
बिज्ञापन
जलवायु परिवर्तनका विषयमा निरन्तर संवाद गर्नुपर्छ । यसै सन्दर्भमा नेपाल सरकारले यही जेठ २ देखि ४ गतेसम्म आयोजना गरेको सगरमाथा संवादले केही हदसम्म अन्तरराष्ट्रिय मञ्चमा नेपालको हिमाल र जलवायु परिवर्तनको प्रभावको विषयमा उजागर गर्ने प्रयास गरेको छ भन्ने हाम्रो बुझाइ हो । तर राजनीतिक परिवर्तनसँगै जलवायु परिवर्तनका विषयलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन भएको पाइन्छ । यसले नेपालको मुद्दालाई अन्तरराष्ट्रिय फोरममा बहसमा लैजान समस्या हुने गरेको छ । आर्थिक सहयोग आउँदा सिजनल रुपमा मात्र कुरा उठाउनेभन्दा पनि निरन्तर अभियान चलाउनु पर्छ । अनुसन्धानबाट आएका तथ्यका आधारमा कसरी काम भइरहेको छ भनेर समीक्षा गर्नु पर्छ । प्रकृतिलाई बिगारेर होइन, सिङ्गारे र विकास गर्नुपर्छ । बोल्नेहरूले त आफैँ कुरा उठाउँछन् । तर नबोल्ने प्रकृतिका विषयमा पनि बोल्नुपर्छ । यो विषय आजको मुख्य दायित्व हो भन्ने लाग्दछ ।
बिज्ञापन
यही विषयलाई मनन् गरेर राससले पर्वतीय पर्यटनका विषयमा तस्बिर प्रदर्शनी गरेको हो । यस वर्षको गणतन्त्र दिवसलाई अवसर पारेर नेपालको पर्वतीय पर्यटनलाई टेवा पुर्याउने र नेपाल सरकारको ‘सगरमाथा संवाद’ कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ शीर्षकमा तस्बिर प्रदर्शनी आयोजना गरेको छ । यो तस्बिर प्रदर्शनीले राससका फोटो पत्रकारले खिचेका, सम्प्रेषण भएका तस्बिरहरू खोज्ने र अर्काइभिङ गर्ने, राससमा छापिएका तस्बिर संरक्षण गरेर भावी पुस्तालाई अमूल्य सम्पत्ति हस्तान्तरण गर्ने, नेपालमा पर्वतीय पर्यटनको अवस्था र सम्भावनाको विषयमा जानकारी दिने र नेपालका हिमालहरूको विषयमा जानकारी दिने कार्य गर्छ भन्ने हामीलाई लागेको छ । नेपालका आठ हजार मिटर अग्ला र त्यसभन्दा होचा तर चर्चामा रहेका हिमालहरू, हिमाली क्षेत्रको जनजीवन, पर्वतीय शृङ्खलामा पुगेका विदेशी उच्च पदस्थ व्यक्तिहरू, पर्वतीय शृङ्खला, पहाडी क्षेत्रमा रहेका पर्यटकीय गन्तव्य, ताल, पोखरीलगायतका विषयमा खिचिएका तस्बिरलाई प्रदर्शनीमा राखेको छ । राससका समाचारदाताहरूले खिचेका र राससको बुलेटिनमा प्रकाशित भएका करिब एक सयवटा तस्बिरबाट नेपालको पर्वतीय पर्यटनलाई चिनाउने प्रयास गरेका छौंँ । प्रदर्शनीमा राखिएका तस्बिरहरू नेपालको हिमाल र पर्वतीय क्षेत्रमा विकास भइरहेको पर्यटनलाई चिनाउने प्रयास मात्र हो ।














