महिलालाई कंगाल बनाउने र १० ठाउँमा हन्डर खाँदै हिँड्न बाध्य बनाउने सामाजिक संरचना तथा एउटी विवश र लाचार केटीलाई अवस्थाको फाइदा उठाएर प्रयोग गर्दै हिँड्ने दर्जनौँ पुरुष प्रवृत्तिका विरुद्ध एक शब्द नबोल्ने गीतले महिला पात्रलाई नंग्याउन र अपराधबोध गराउन भने कुनै कसर बाँकी छोडेको छैन । अन्त्यमा आफूलाई त्यहाँसम्म पुर्याउनेका विरुद्ध प्रतिकारको भाषा बोल्नुपर्ने ठाउँमा तिमीहरूले गर्यौ, मैले पनि गरेँ, तिमीहरूकै कारण म यो दलदलमा आएकी हुँ, इज्जत जान्छ भने सबैको जान्छ, छौँ भने हामी सबै पापको भागिदार छौँ भनेर उल्टै स्वीकारोक्तिमा पुगेर टुंगिनु झनै दुःखद कुरा हो । जब कि त्यो पाप र धर्मको कुरा होइन, हिंसा र अपराधको कुरा हो । हिंसा गर्ने र हिंसा भोग्नेको कुरा हो ।
बिज्ञापन

यसरी यो गीतले महिला शरीरमाथि हिंसा गर्नेहरूलाई सामान्यीकरण गर्ने भाष्य पनि निर्माण गरेको छ । पैसा फ्याँकेर अभावसँग खेल्नु अमानवीय र लज्जास्पद या निकृष्ट कुरा हो भन्ने सन्देश दिनुपर्ने ठाउँमा उल्टै शक्ति र सामथ्र्यका अघि नतमस्तक महिला स्वाभिमान र त्यही लज्जित स्वाभिमानमाथि पुरुष अहंकारको दूषित रिहर्सल अत्यन्तै भद्दा र कुरूप छ ।
यसले दिने सामाजिक सन्देश त समस्याग्रस्त छ नै, साथसाथै समाजमा महिलामाथि उत्पीडन थोपर्ने माध्यम पनि बन्नेछ ।














